मेरो देश
यहाँ धरा छ उर्वरा छ जन्म हुन्छ भाग्यले।
यहाँ उठेर जाग्छ जो महान हुन्छ कर्मले॥
गरा हरा भरा भयो विशाल धान खेतमा।
खुशी भरेर जिन्दगी रमाउँदै छ भेटमा॥
अलैँचि अम्लिसो कयौँ पहाडले उगाउँछ।
विशाल उच्च शैल हेर चम्किलो बनाउँछ॥
हिमाल बाट जिन्दगी नदी बनेर बग्दछ।
विचार शौचले सधैँ यहाँ सिँगार्नु भन्दछ॥
अनेक जातिका सबै विचार एक गन्दछन्।
बसौँ मिलेर प्रेमको हियो भरेर भन्दछन्॥
र दुःखमा सँगै हुने खुशी हुँदा रमाउने।
समाज चेतना हुने अनेक छन् सगाउने॥
हिमाल हे पहाड हे तराइ हे रमाउन।
सँगै बसौँ सँगै डुलौँ जमीन यो हँसाउन॥
अनेक जातिका कुरा अनेकमा छ एकता।
विचार भेषमा यहाँ अनेकमा छ एकता॥
हिमाल रुन्छ हे भने पहाडले फकाउँछ।
पहाडको जमीनमा तराइले समाउँछ॥
तराइ उष्ण हे भए हिमालले बचाउँछ।
सिचाइ तोय जिन्दगी पहाडले पठाउँछ॥
छन्द पञ्चचामर
रचना ✍️ प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि