गीता ज्ञान

श्रीकृष्ण ज्ञान गुणका अति  हुन् विशेष।
संसार  लोक   नहुँदा   पनि  हुन्छ  शेष॥
ब्रह्माण्ड  यो  लय  हुँदै  उनमै  मिसिन्छ।
यस्तो   सबै    जगत  ईश्वरको  भनिन्छ॥

गीता  दिए  अमृत   तुल्य  अनन्त ज्ञान।
हाम्रो  सनातन  अहो  अति  गर्व  शान॥
मीरा   समान  नभए  पनि  भक्ति  देऊ।
अध्यात्मको अलिकता अब शक्ति देऊ॥

आत्मा र जीव जग बुझ्न यहीँ सकिन्छ।
मोहादिले  सकल   जीवन  नै  मकिन्छ॥
श्रद्धा र भाव  जब  हुन्छ भने  तिमीमा।
आनन्द ज्ञान कति खुल्छ कयौँ तिमीमा॥

ठान्दै  गरौँ   जय   पराजयमा   समान।
राती   भएपछि  पुनः   हुनु  है  विहान॥
विद्या र भाव कति छन् अब रोज्नु पर्छ।
राम्रा  कुरा जगतमा  अब  खोज्नु पर्छ॥

आहार शुद्ध  जब  सत्य विचार पाल्छ।
आनन्द  ज्ञान  अवचेतन खुल्न थाल्छ॥
गाई  र जीव  जगमा  जसले  समाल्छ।
संस्कार जीवन  सनातन खुल्न थाल्छ॥

छन्द - वसन्ततिलका 
रचना ✍️ प्रकाशमणि खनाल 

टिप्पणियाँ