मेची काली जाग
मेची काली सजन मन हे जाग भन्दै रुँदैछ।
नेपालीको मन पनि कता भिन्न यात्रा हुँदैछ॥
के पायौ खै पर पर गरी राष्ट्रवादी कुनामा।
राख्दै छौ के अपहरणका क्रूर हिंसा थुनामा॥
वादी वादी भनिकन यहाँ आज मान्छे गनेर।
के पायौ खै सजन मन हे अग्रगामी भनेर॥
माटोलाई भुलिकन यहाँ पाटिको गीत गाए।
तेरो मेरो दुर दुर गरी जातिको गीत गाए॥
मान्छेलाई वचन धनले आज अर्कै बनायौ।
छारो हाल्दै परमुलुकका पाउलाई समायौ॥
बाँच्ने आधार छ मुलुकमा रोजगारी लुकायौ।
मान्छे लाखौं परमुलुकमा आज अन्तै पठायौ।
नेपालीको मन र ममता आज चित्कार भर्दै।
हिड्नै पर्ने छ सडक भरी राष्ट्र श्रृंगार गर्दै॥
माटोको गौरव पनि अहो राष्ट्रको राजसंस्था।
बुझ्नै पर्ने किन सजनले कार्य फेरे व्यवस्था॥
नेता भन्ने पनि कति यहाँ आज द्रव्य लिदैछ।
माटो आफ्नै तर पनि यहाँ देश अन्तै दिदैछ॥
निद्रामा छौ अचल तन हे जाग है जाग्नु पर्छ।
नेपाली हौ अविरल हिडौँ माग्नु संस्कार पर्छ॥
छन्द - मन्दाक्रान्ता
रचना ✍️ प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि