नेपाल कस्तो भयो

भोको पेट  बचाउने  किन भयो  यो  राहदानी  अझै।
कर्णाली तिर हे पुगेन  कि अहो त्यो राजधानी अझै॥
मेरो  ज्यान  विदेशमा  छ अहिले सारा जवानी गयो।
प्यारो सुन्दर शान्ति बुद्ध मनको नेपाल कस्तो भयो॥

मेरो  आगन  फूल  यो  प्रकृतिले भर्दै सिँगार्दै छ कि।
बाढीले  जलले  निवास घर हे  ठेल्दै बिगार्दै छ कि॥
मेरो  जीवन स्वप्नमा  पनि  अहो बाढी पसे झैँ भयो।
प्यारो सुन्दर शान्ति बुद्ध मनको नेपाल कस्तो भयो॥

खोलामा जलमा  अझै तुइन हे बाटो बनेको छ कि।
माटोको ममता अझै पनि अहो ताजा बनेको छ कि॥
प्यारो लाग्दछ गाउँ बेलि दिन हे चौमार्ग कस्तो भयो।
प्यारो सुन्दर शान्ति बुद्ध मनको नेपाल कस्तो भयो॥

आँखाको सपना  बनेर  मनमा  मेरो  सधैं आउँछ्यौ।
निद्रामा पनि सुस्तरी कति मिठो संगीतमा गाउँछ्यौ॥
गोरेटो  पथ हे अझै छ कि कसो बाढी  पसारो भयो।
प्यारो सुन्दर शान्ति बुद्ध मनको नेपाल कस्तो भयो॥

साच्चै  आदर  प्रेमको  मिलनको  गर्दैछु है कोशिस।
पक्कै आउँछु है म चालिस कटे  हे दैवको आशिष।
त्यै पीडा छ कि हे समाज घरमा आनन्द बढ्दै गयो।
प्यारो सुन्दर शान्ति बुद्ध मनको नेपाल कस्तो भयो॥

छन्द - शार्दूलविक्रीडित
रचना ✍️ प्रकाशमणि खनाल 

टिप्पणियाँ