सद्भाव

नेपाली जनको विदीर्ण  मन भो  टाल्नै नसक्ने गरी।
यस्ता शब्द तिखा बसेछ मनमा फाल्नै नसक्ने गरी॥
आफ्नै  अङ्ग  यहाँ  विभाजन  गरी मेरो  र तेरो भयो।
भाई  दाजु लडेर आज  किन हे संस्कार जाने भयो॥

आफ्नै यो घर हेर्छु  विद्युत विना औंसी भएको  सरी।
बुङ्गो  मात्र  उजाड  झुण्डिरहने  केरा  विनाको घरी॥
के  पाइन्छ  लडेर यो  जगतमा मिल्दै  बसेका  सित।
गर्दैछौ  किन  हे  विवाद  मनमा  लाचार  पार्दै  प्रीत॥

आँधी बन्छ यहाँ उडाइ  जन हे  हुत्याउला  तल्तिर।
थाम्ने को छ र हे प्रचण्ड तपले सिध्याउला आखिर॥
भन्थे  घाम  नयाँ छ  हेर  यसरी  लागेन नौलो दिन।
रोगी घट्छ भनेर  औषधि गरी  फालेन औलो किन॥

खोज्दै छन् जनता यहाँ सदनमा छायाँ छ मेरो कता।
भन्दैछन् अब सम्विधान भन हे माया छ मेरो कता॥
पैताला  पनि   हे  बिझाउँछ  भने  खोलेर  हेर्ने  गर।
आँखामा  तनमा  कसिञ्गर  परे  धोएर  झार्ने  गर॥

यस्तो भाव  पढेर  यो हिमचुली  रोएर  बग्दै झरिन्।
आफ्ना दुःख लुकाउँदै जल भई गन्तव्य पूरा गरिन्॥
जाऊ तिक्ष्ण समाजमा  मधुरता  घोलेर  जाने भए।
जाऊ प्रेम  भरेर  शब्द  मनको  खोलेर  जाने  भए॥

छन्द - शार्दूलविक्रीडित
रचना ✍️ प्रकाशमणि खनाल

टिप्पणियाँ