नववर्ष आयो
जागेर जोस कति जाँगर फुर्ति साथ।
उल्लास जीवन भरेर चल्यो बतास॥
त्यो फेरि जिर्ण रुखमा हरियो पलायो।
बोकेर हर्ष र खुशी नववर्ष आयो॥१
मेरो हिमाल र पहाड मधेश आज।
जाग्दैछ नूतन उमङ्ग लिएर साथ॥
त्यो कामना कति लिएर वसन्त आयो।
बोकेर हर्ष र खुशी नववर्ष आयो॥२
त्यो कोइली अवनिमा कति गान गर्छ।
उर्जा र साहस कयौं तन भित्र भर्छ॥
आवाजले मधुर सम्वत दिव्य ल्यायो।
बोकेर हर्ष र खुशी नववर्ष आयो॥३
आशा गरेर मनमा कतिले सजाए।
लाली गुराँस घरमा कतिले फुलाए॥
छर्दै सुगन्धित तनाव सबै भगायो।
बोकेर हर्ष र खुशी नववर्ष आयो॥४
ईर्ष्या हटेर अब जाग्दछ भित्र बुद्ध।
सन्मार्गमा अब हुनेछ सधैँ प्रवृत्त॥
बालेर दीप मन उज्ज्वल पार्न आयो।
बोकेर हर्ष र खुशी नववर्ष आयो॥५
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि