बैसाखीको भर
यौटा यात्री पथ मुलुकमा नित्य हिँड्दैछु भन्छ।
माया बोक्दै अनवरतले दूर्गमा पुग्छु भन्छ॥
रङ्गी चङ्गी कति कति खुशी फूल ल्याएर गाँस्छ।
बैसाखीको भर तन गरी हिड्न खोजेर हाँस्छ॥ १
डाँडाकाँडा समथर भुँई शैलमा बस्छु भन्छ।
मेची काली हृदय तनमा हेर बग्दैछ भन्छ॥
भाषाभाका सब सजनको काखि च्यापेर राख्छ।
बैसाखीको भर तन गरी हिड्न खोजेर हाँस्छ॥ २
आजादीको मुख नयनमा लोक नारा भिरेर।
ती गोली बारुद कति छिरे ज्यान छाती चिरेर॥
साक्षी गोडा शहिद जिउँदो स्पर्श गर्दै उ बाँच्छ।
बैसाखीको भर तन गरी हिड्न खोजेर हाँस्छ॥ ३
माटोमा रक्त छ शहिदको यो प्रजातन्त्र भित्र।
फुल्दै छन् ती निडर कलिला फूल उद्यान भित्र॥
नेपाली को प्रगति पथ त्यो दृश्य हेरेर नाँच्छ।
बैसाखीको भर तन गरी हिड्न खोजेर हाँस्छ॥ ४
गोडा सार्दा अघि मुलुकले अग्रगामी भएर।
त्यो हिड्ने कोसिस गरिरह्यो साथ पीडा सहेर॥
आफ्नै चिन्ता त कति नगरी भव्य आनन्दमा छ।
बैसाखीको भर तन गरी हिड्न खोजेर हाँस्छ॥ ५
छन्द - मन्दाक्रान्ता
रचना - प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप , झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि