तिम्रो जवानी अब बन्धकीमा
तिम्रो जवानी अब बन्धकीमा।
माया भरी देउन जिन्दगीमा॥
त्यो स्पर्शले आज कयौं मलाई।
उमङ्ग छायो मन भित्र आई॥
{१}
माली विनाको अब फूलवारी।
फुल्दैछ आधा मन हुन्छ भारी।
एक्लो मदानी छ एक्लो जवानी।
बन्दैछ आधा अनेकौँ कहानी॥
{२}
गन्तव्य यात्रा अलिनो फिका छ।
दुर्गन्धमा यो तन नासिका छ॥
लावण्यको त्यो तनको सुगन्ध।
खोज्दैछु ऐले प्रतिविम्ब अङ्ग।
{३}
कालो म कालो अलकत्र हैन।
प्यारी ममा दारुण भित्र छैन॥
माधुर्य त्यो ओज कयौँ जगाइ।
जोडौँ न आत्मा मन देहलाई॥
{४}
एकान्तमा यो मन आत्तिदै छ।
बेहालले यो तन लाटिदै छ॥
यो शीत हेमन्त चिसो भगाउ।
न्यानो भरी ग्रीष्म ममा जगाउ॥
{५}
छन्द - इन्द्रवज्रा
रचना - प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि