छानो प्वाल हुँदा
भोको मादल बज्छ लौ सडकमा खाएर ताली अति।
सारङ्गी जति रेटिए पनि यहाँ मान्दैन झर्को कति॥
चर्को घाम ललाटमा छ दिउँसो राती उदाङ्गै भयो।
छानो प्वाल हुँदा अहो कुमुदको लौ आँसु वर्षा भयो॥१
यी दौरासुरुवाल कोट पटुका ढाका र टोपी फुटे।
चौबन्दी फरिया र लोकपन लौ आएर सारा लुटे॥
छेपारो कसरी बदल्छ तन लौ नाचेर नाङ्गै भयो।
छानो प्वाल हुँदा अहो कुमुदको लौ आँसु वर्षा भयो॥२
माटो बन्जर झैँ छ आज पसिना पर्यो अरूकै भर।
खोला ताल सबै पलायन भए रित्तो बनाए घर॥
बारीका पनि कोपिला कति चुँडे कुल्चेर आयो गयो॥
छानो प्वाल हुँदा अहो कुमुदको लौ आँसु वर्षा भयो॥३
रङ्गी फूल बनेर आँगन भरी नाँच्दैन कोही पनि।
मीठो इत्र बनेर शब्द मनमा छर्दैन कोही पनि॥
घाती झैँ दुनियाँ भयो प्रकृति यो हेमन्त आयो गयो।
छानो प्वाल हुँदा अहो कुमुदको लौ आँसु वर्षा भयो॥४
अग्ला वृक्ष यहाँ अनेक करले आरा लगाए कति।
त्यो छाती तनमा विचार कसको पोल्दैछ लौ भत्भती॥
आगोको कति रापमा जन पुगे त्यो अङ्ग भङ्गै भयो।
छन्द - शार्दूलविक्रीडित
रचना - प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि