म ब्रह्मको अंश हूँ

म  हाड  मांस चर्म  यो नसा  कपाल  होइन।
म  हात  पाउ  कर्ण  यो म  दृश्य नेत्र होइन॥
म  नासिका  म दन्त  यो  रसज्ञ अङ्ग होइन।
म  ब्रह्मको  म अंश  हूँ  अनित्य  देह होइन॥१

म स्निग्ध त्यो पदार्थ शक्ति रक्त अश्रु होइन।
विलाप  दुःख डाह त्यो  अनन्त  हर्ष होइन॥
हियार  हल्लिने  ममा  नखी  कराग्र  होइन।
म  ब्रह्मको  म अंश  हूँ  अनित्य  देह होइन॥२

म वायु  अम्बु  तेज  यो धरा  विशाल होइन।
म शुन्य द्यौ समस्त अण्ड चन्द्र पुञ्ज होइन॥
म वर्ष मास  शुक्ल पक्ष कृष्ण  पक्ष  होइन।
म  ब्रह्मको  म  अंश हूँ अनित्य  देह  होइन॥३

न अग्निले म जल्छु त्यो न अम्बुले गलाउँछ।
न काट्न सक्छ धारले न  वायुले  उडाउँछ॥
म वासना  घमण्ड त्यो विशाल बुद्धि होइन।
म  ब्रह्मको  म अंश  हूँ  अनित्य देह होइन॥४

न जन्म  हुन्छ  चेतना  न  मर्छ सत्य अक्षर।
म हंस  सत्य  चेतना  म हूँ  प्रशान्त शाश्वत॥
म  चम्किलो दिवा  र  घोर अन्धकार होइन।
म  ब्रह्मको  म  अंश  हूँ  अनित्य  देह होइन॥५

छन्द - पञ्चचामर
रचना - प्रकाशमणि खनाल

टिप्पणियाँ