दशैँ
शीर्षक - दशैँ
आयो फेरि दशँ कयौँ दलनमा आनन्द ल्यायो कति।
वर्षा बादल रोकिएर नभमा सुक्दैछ माटो अति॥
त्यो आँधी पहिरो गयो अब गयो चट्याङ सारा गयो।
यात्रा जीवनमा अनेक मनमा लौ शान्ति सारा भयो॥१
झुल्दै धान गरा गरा शरदमा आहा झुलेका कति।
रङ्गी चम्पक गन्धपुष्प घरमा आहा फुलेका कति॥
छर्दैछन् कति पारिजात घरमा वास्ना विहानी भरी।
गर्दैछन् जन लौ सफा घर सबै सौन्दर्य ताजा गरी॥२
रङ्गाएर कयौँ यहाँ घरहरू चम्काउँदै चम्चमी।
खेल्दैछन् पिङ वृद्ध बालक युवा मच्चाउँदै छम्छमी॥
केरा सख्खरमा दही र चिउरा खाएर आनन्दमा।
थाप्दैछन् कति दिव्य दिव्य जमरा राता टिका माथमा॥३
आशिर्वाद ठुला र मान्यजनको थापेर झोली भरी।
जाँदैछन् कति लौ यहाँ जनहरू नाघेर खोली तरी॥
पाखा पर्वत लौ अनेक चुचुरा हाँस्दैछ अग्लो बनी।
खोला ताल कुलो झरेर झरना नाँच्दैछ सङ्लो बनी॥४
प्यारो लाग्छ शितोष्ण नै प्रकृतिको रङ्गीन संसारमा।
तारा चन्द्र उदाउँदा शरदमा देखिन्छ आकारमा॥
देवीको अब वास हुन्छ घरमा फ्याँकेर लौ दुर्गुण।
मान्छेको मन भित्र सत्य र कयौँ बस्दैछ लौ सद्गुण॥५
छन्द - शार्दूलविक्रीडित
प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि