ज्ञान भण्डारमा ज्ञानको पुञ्जमा
शीर्षक - ज्ञान
छन्द - स्रग्विणी
ज्ञान भण्डारमा ज्ञानको पुञ्जमा।
जिन्दगी फुल्छ त्यो बागमा कुञ्जमा॥
जो कुवामा सधैं पात्र भै झुक्दछ।
त्यो कुवाबाट पानी पुरै झिक्दछ॥१
ज्ञान विद्या भए जिन्दगी चल्दछ।
नत्र अज्ञानले चेतना जल्दछ॥
सत्य झूटो न छुट्याउनै सक्दछ।
जिन्दगी काल ओडारमा लक्दछ॥२
जिन्दगी बन्छ है ज्ञान विज्ञानले।
जिन्दगी जल्छ है क्रोध अज्ञानले॥
छैन केही यहाँ ज्ञान भन्दा पर।
छैन केही यहाँ जीव भन्दा पर॥३
काव्य ती फक्रिए ज्ञान विज्ञानले।
भावमा उर्लिए ज्ञान विज्ञानले॥
ज्ञान बाँड्दा कयौं ज्ञान त्यो बढ्दछ।
काव्यको सिर्जना झन् अघी बढ्दछ॥४
ज्ञान मै भेटिए जीवका सभ्यता।
ज्ञान सौन्दर्य मै भेटिने भव्यता ॥
ज्ञान कै धार हुन् काव्य साहित्य त्यो।
ज्ञान कै धार हुन् चित्र संगीत त्यो॥५
जिन्दगीमा कयौं मार्ग छन् साँघुरा।
बुद्धि बाहेक त्यो गर्छ के पाखुरा॥
शत्रुका मित्रका स्वार्थ हुन्छन् कति।
क्रोध ईर्ष्या गरी नष्ट हुन्छन् कति॥६
ज्ञानले जीवमा दिन्छ माधुर्यता।
ज्ञान संस्कार त्यो बन्छ है सभ्यता ॥
दिव्य हाँसो छरी ज्ञान त्यो हाँस्दछ।
शब्दमाला मिठो ज्ञानले गाँस्दछ॥७
प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि