वर्षा भयो नपरिदे!!!
वर्षा निरन्तर भएर नदी बढेर।
मेरो भयो घर भरी जलमग्न हेर।।
लग्यो अनाज कति बालक हे जवानी।
वर्षा भयो नपरिदे अब पुग्छ पानी।।१
बल्दैन अग्नि किन हेर रिसाउँदै छ।
चल्दैन हात तन आज निदाउँदै छ।।
डुब्यो पलङ्ग घर लौ तनको लगानी।
वर्षा भयो नपरिदे अब पुग्छ पानी।।२
आँखा भिजेर जलमा कति आँसु झर्छ।
एक्कासि जीवन भरेर पिडा थुपार्छ।।
निस्केर झुल्क रवि देउ नयाँ बिहानी।
वर्षा भयो नपरिदे अब पुग्छ पानी।।३
आन्द्रा बटार्दछ कयौं न त थाम्न सक्छु।
बेहोसमा घरिघरी जल माथि लड्छु।।
कालो यहाँ जमिन भित्र घुमे मदानी।
वर्षा भयो नपरिदे अब पुग्छ पानी।।४
सुख्खा लुगा बदनमा कति भेटिदैन।
दुर्भाग्य जीवन भयो किन मेटिदैन।।
ओढेर पाल मुनि बस्नुछ सँग नानी।
भो भो भयो नपरिदे अब पुग्छ पानी।।५
{समाप्त}
छन्द - वसन्ततिलका
रचनाकार - प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि