मेरो अवस्था
बाँच्ने इच्छा कालले हेर खायो।।
मेरो यात्रा टुंगिने वार आयो।।
चल्दैनन् यी हात खुट्टा र माथ।
कस्को गर्ने जिन्दगीमा नि आश।। १
छोरा छोरी भेट्न आएर जान्छन्।
कोही कोही स्वर्ण ऐश्वर्य लान्छन्।।
आफैं उठ्ने हिड्न डुल्नै न सक्छु।
सारा भन्छन् पाटि पौवा म लग्छु।। २
मेरो प्यारो यो जवानी गएछ।।
माया भन्दा मृत्यु प्यारो भएछ।।
सेतै रौं भो ज्यान काम्दैछ हेर।
लौरो मात्रै साथ हिड्दैछ हेर।। ३
पानी माग्दा त्यो खरानी घसेर।
तातो भन्दै हेर हाँस्छन् बसेर।।
छाती घाटी घ्यार्र गर्दैछ मेरो।
आँखा टाढा देख्न सक्दैन जेलो।। ४
मेरो आँखा धी अज्ञानी भएछ।
वाणी सुन्ने शक्ति अन्तै गएछ।।
मुट्ठी कस्दै लड्न खोज्दैछ काल।
फेरी पर्ने हो कि जन्मादि जाल।। ५
मैले बाचुन्जेल जे जे कमाए।
मैले बाचुन्जेल जे जे गुमाए।।
छाड्नै पर्ने भो नि सारा शरीर।
यो आत्माको संग के जान्छ ईश।।६
छन्द - शालिनी
शिर्षक - मेरो अवस्था
रचना - प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि