विडम्बना

गाउँ टोल छ शुन्य आज  शवमा  छैनन्  मलामी यहाँ।
झार्दैछन्  पसिना  युवा  लहरले  सारा  विदेशी  कहाँ।
लोग्ने  पुत्र  लिएर  जीवन कयौं आयो  मुढा  काठमा।
बोक्दैछन् सब लाश आज  महिला  मात्रै यहाँ घाटमा।
भेला पारि कनै  कयौं  शरिरको  पानी  निकालीकन।
सुख्खा त्यो मरुभूमि भाछ मलिलो माटो भिजाईकन।
आफ्नै ताल पहाडमा सलल त्यो खोला बगेको किन।
कुप्पी बल्दछ गाउँमा र  घरमा  आउँछन् सलेदो लिन।
व्यवस्था  सरकार  देश अहिले  घुम्ने छ  कुर्सी  मुनि।
ब्वाँसो झैं  बनि  गर्भमा  हर  घडी  गर्दैछ  लूछाचुडी।
निर्यातै जन गर्नु थ्यो यदि भने कस्तो शिक्षा ओखती।
जादैछन् ति जहाजमा किन युवा सोच्दैन कुर्सी पनि।
झुप्रोमा  मुटु  पुष्प  पुत्रहरु  छन्   काँडाहरुको बिच।
पग्लीँदै  मरुभूमिमा छ तन त्यो आशा  हरूको सित।
खल्लो लाग्दछ सुस्त काल  उसको आँखा रसाउँदछ।
आफ्नै हात घडी भए  पनि त्यहाँ काँटा ढिलै चल्दछ।
खुट्टा  हात  हराउने  मिसिनमा  साथी  परेको  थियो।
आगो संग  सधैं  सधैं महलमा भन्छन् सखी बाँचियो।
ल्याए बाकसमा भने त धन त्यो आफ्ना खुशी पार्दछ।
आए  बाकसमा  परन्तु  तन  त्यो  यो  देशले  हार्दछ।
शिर्षक - विडम्बना
छन्द - शार्दूलविक्रीडित
प्रकाशमणि खनाल
गोल्धाप, झापा नेपाल

टिप्पणियाँ