आत्मा

  उपनिषद् को मूलभूत विषय प्रधान रुपमा अगाडी आएको छ जहाँ यसको अभिप्राय व्यक्तिमा अन्तर्निहित मूलभूत सत्यलाई उजागर गर्नु हो जो शाश्वत तत्व पुरै ब्रहाण्डको प्रलय भएपनि अर्थात् शरीरको मृत्यु भएपनि मृत्यु पश्चात् आत्माको विनाश हुँदैन अथवा शरीर संगै मर्दैन, आत्माको निरुपण श्रीमद्भगवद् गीतामा विस्तृत रुपमा गरिएको छ आत्मालाई शस्त्रले काट्न सक्दैन अग्निले जलाउन सक्दैन पानीले गलाउन सक्दैन वायुले सुकाउन सक्दैन जसरी मनुष्यले पुरानो लुगा त्यागेर नयाँ लुगा धारण गर्दछ त्यसरी नै आत्माले पनि पुरानो शरीर त्यागेर नयाँ शरीर धारण गर्दछ, त्यो निराकार चेतन परमतत्वले आकार लिएर जब साकार स्वरुप जीवमा प्रवेश गर्दछ त्यो जीवको जन्म देखि मुत्यु पर्यन्त १६ संस्कार द्वारा त्यो शुद्ध चेतन आत्मालाई फेरि निराकार परब्रह्म परमेश्वर संग मिसाउन उत्सव मनाईन्छ सबै भन्दा ठुलो उत्सव त पाणिग्रहण अर्थात् विवाह नै हो जन्म मरण शृङ्खलाबाट मुक्ति दिलाउनु नै षोडश संस्कारको परम मूल ध्येय हो।
समुन्द्रबाट एक गाग्री पानी ल्याएपछि त्यो समुन्द्र सुक्दैन र गाग्रीको पानी र समुन्द्रको सम्बन्ध टुट्यो अथवा अलग अलग वस्तु भनेर भन्न मिल्दैन समय लाग्छ तर उ कुनै न कुनै तरिकाले त्यो पानी वास्पिकरण भएर होस् अथवा सिन्चिएर होस् समय लाग्छ तर निश्चित समयमा त्यो पानी समुन्द्रमा अवश्य मिल्छ त्यो गाग्री सुक्ष्मजीव हो भने पानी चाहिँ आत्मा हो भोक प्यास द्विविधा निर्णय पाप पुन्य सबै सुक्ष्मजीवको क्रियाहरु हो आत्मा त न दुखको अनुभव गर्छ न सुखको यो सांसारिक प्रपञ्चबाट पृथक् छ अनि आत्मा परमात्मा संग संयोग भएपछि परम सुख आनन्दको अनुभव गर्दछ।
जाडो गर्मी अनि सुख दुःख दिने यी ईन्द्रिय विषय वासनाहरुको संयोग त उत्पत्ति विनाशशील साथै अनित्य छ सुख दुःखलाई समान नजरले हेर्ने अथवा बुझ्ने मनुष्यहरुलाई यी ईन्द्रिय वासनाहरुको संयोगले व्याकुल र चिन्तित बनाउँदैन त्यो मनुष्य नै मोक्षको अधिकारी हुन्छ।
मनुष्य दिनभरिको वार्तालापमा म शब्द अत्याधिक रुपमा प्रयोग गर्छ तर आश्चर्य लाग्दो के छ भने प्रतिदिन म, मेरो, शब्द अनेकौं पटक प्रयोग गरेर पनि मनुष्य वास्तवमा यथार्थ रुपमा स्वयंलाई जानेको हुँदैन अर्थात् म शब्द जुन वस्तुको सुचक हो उसले स्वयं नश्वर शरीरलाई नै प्रतिपादन गर्न खोजेको हो, तपाईं कुनै मनुष्यलाई एकदम संग झट्ट तपाईँ को हो ? भनेर सोध्नुभयो भने उसले पक्कै पनि शरीरको नाम भन्दिन्छ गहिरिएर सोच्ने हो भने वास्तवमा म शब्द शरीर भन्दा अलग परब्रह्म परमेश्वरको अंश परम चेतन सत्ता आत्माको सुचक हो जस्तो कि जसले स्वयंलाई दृश्य अदृश्यमा अभिव्यक्त गरेको छ जसले स्वयंलाई पुरै ब्रह्माण्ड सृष्टिमा अभिव्यक्त गरेको छ एकोSहम् बहुस्यामः बहुरुपमा जसले स्वयंलाई अभिव्यक्त गरेको छ उ आफ्नै एक अर्का प्रति शत्रुता भाव राखेर भौतिक सुखको अभिलाषामा भाकलबाट आफ्नै रुपको बलि लिएर कसरी खुशी हुन सक्छ ?...... शुभम्।
क्रमशः.....

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा, नेपाल.

टिप्पणियाँ